बनेपा । यस वर्ष लक्ष्यअनुसार राजश्व नउठेको बनेपा नगरपालिकाले जनाएको छ । अर्धबार्षिक समीक्षा गोष्ठीको आयोजना गर्दै नगरपालिकाले राष्ट्रिय वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा भने ७८ अंक प्राप्त गर्दै जिल्लामै पहिलो पालिका भएको जनाएको हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादित योजना तथा कार्यक्रमहरुको समीक्षा एवं प्रगतिको विवरण अर्धबार्षिक समीक्षा कार्यक्रममा राखिएको थियो । बनेपा नगरपालिकाको सभाहलमा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले गोष्ठीको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले गत असोज १० देखि १२ मा गएको बाढीपहिरोका कारण योजनाहरु अगाडि बढ्न नसकेको र लक्ष्यअनुसारको राजश्व संकलनसमेत नभएको जानकारी दिनुभयो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९२.५ अंक ल्याएको जानकारी सभामा उपस्थितलाई गराइएको थियो । अन्तर्राष्ट्रिय नगरपालिकाहरूसँग विकास मोडेल तथा सिकाई अनुभव आदानप्रदान गरी मैत्रीपूर्णसम्बन्ध विस्तार, पूण्यमाता नदी करिडोर निर्माणका लागि सरोकारवाला पक्षहरूसँग छलफल, खानेपानीको दीगो समाधान र प्रभावकारी वितरणको लागि सरोकारवालासँगको छलफल गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिइयो । वडाकार्यालय, विद्यालय र आधारभूत स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी ब्यवस्थापन भएको उपलब्धी सोही अवसरमा सुनाइएको थियो ।
आर्थिकवर्षको प्रथम र दोस्रो त्रैमासिकमा ५ हजार ९६ जना लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्तास्वरूप जम्मा १० करोड २७ लाख १५ हजार २ सय ३५ प्रदान गरिएको बताएको छ । त्यसैगरी जन्मदर्ता ३ सय ३४, विवाहदर्ता १ सय ८६, बसाइसराई आउने ४० परिवार जाने २८, सम्बन्धबिच्छेद १७, मृत्यु १६८ र घटनादर्ता ७ सय ७३ रहेको जनाएको छ । कार्यक्रममा विषयगत शाखाहरुको प्रगती शाखा प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो ।
