बनेपा । नेपाल औषधि व्यवसायी संघ वागमति प्रदेशको समन्वयमा लागू तथा मनोद्विपक औषधिसम्बन्धी कार्यशाला तथा अन्तक्र्रिया कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ ।
नेपाल औषधि व्यवसायी संघ काभ्रेको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख वशुन्धरा खड्काले एम्बुलेन्समा पनि लागूऔषध तस्करी हुने गरेको पाइएकाले यो सबैका लागू चुनौतीको विषय भएको बताउनुभयो । उहाँले जिल्लामा लागूऔषधको कारोबार रोकथामका लागि प्रहरी सक्रिय रहेको बताउँदै यसमा सबै तहबाट सहयोग र समन्वयको खाँचो रहेको औंल्याउनुभयो ।
राजमार्गहरुमा अवैधरुपमा राखिएका लागूऔषधका गोदामहरुमा प्रहरीले छापा मारेर अनुसन्धान अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । राज्यबाट कानुनीरुपमा लागूऔषध नियन्त्रणका लागि पहल भइसके पनि कारोबारी नरोकिनु प्रहरीलाई चुनौती रहेको बताउँदै उहाँले गलत काम गर्ने र बिना दर्ता व्यवसाय संचालन गर्ने केही औषधि व्यवसायीका कारण समग्र व्यवसायमा असर परिरहेको चर्चा गर्दै यसले समाजमा विकृति फैलाएको बताउनुभयो । यसलाई नियन्त्रण गर्न व्यवसायीले समन्वयकारी भूमिका निभाउनुपर्ने खड्काको सुझाव थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले लागूऔषधको लतबाट युवापुस्तालाई छुटाउन औषधि व्यवसायीको भूमिका धेरै हुने भएकाले यसप्रति सचेत बन्न आग्रह गर्नुभयो । उहाँले यस्ता क्रियाकलाप रोक्न संचारकर्मीले गर्ने सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वागमति प्रदेश औषधि व्यवसायी संघका महासचिव राजु श्रेष्ठले औषधि व्यवसायीका समस्या समाधानमा नेपाल औषधि व्यवसायी संघ सधैं साथमा रहेको बताउनुभयो । उहाँले कानुन विपरित काम नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष ध्रुर्वनारायण श्रेष्ठले चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले व्यवसायीलाई औषधि बेच्न तर लागू औषध नबेच्न अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ काभ्रेका अध्यक्ष श्यामकुमार तिमल्सिनाले आगामी दिनमा कमीकमजोरी सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले औषधि व्यवसायीले पेशागत हितमा रहेर काम गरिरहेको बताउँदै आफूहरुले व्यापार मात्र नगरेर सेवा पनि प्रवाह गरिरहेको बताउनुभयो । राज्यका नीति नियममा रहेर काम गर्न सबै व्यवसायीलाई उहाँको अनुरोध थियो । कार्यक्रम तिमल्सिनाकै सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रहरीको निगरानी उच्च
लागूऔषधको कारोबार बढेपछि काभ्रे प्रहरीले अहिले विशेषगरि सवारी साधनमा निगरानी उच्च बनाएको छ । काभ्रेसँग सीमा जोडिएका आठ वटा जिल्ला रहेकाले एकातिरबाट ल्याउँदै अर्कातिर लागूऔषधको कारोबार बढीरहेको पाइएपछि प्रहरीले त्यस्ता ठाउँमा निगरानी उच्च बनाएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । स्कूल पढ्ने साना विद्यार्थी पनि लागूऔषध सेवनको लतमा फस्दै गएको पाइएकाले यसमा अभिभावकहरु सचेत रहँदै प्रहरीलाई खबर गरिदिए अनुसन्धान गर्न थप सहयोग पुग्ने बताउँदै खड्काले यस्तो अवस्थामा प्रहरीले मात्र काम गर्न सक्ने अवस्था निकै कम रहेकोप्रति सबैलाई सचेत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *