धुलिखेल । काभ्रेकाे धुलिखेलमा रहेकाे काठमाडौं विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८२/०८३ का लागि विद्यार्थी भर्नामा २० प्रतिशतभन्दा माथि बृद्धि हुने आँकलन गरेकाे छ । गत वर्ष पाँच हजारभन्दा बढी विद्यार्थी भर्ना भएका यस विश्वविद्यालयमा यस वर्ष ६ हजार नाघ्ने अनुमान गरिएकाे हाे ।
विश्वविद्यालयमा बिहीबार आयाेजित शुभदीपावलीलगायत अन्य पर्वकाे शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनमा उपकुलपति प्राडा अच्युत वाग्लेले यसकाे जानकारी दिनुभएकाे हाे । यो बृद्धिले विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा, कार्यक्रम विस्तार र देशभरको पहुँच विस्तारलाई प्रतिबिम्वित गर्ने उहाँले बताउनुभयाे ।
पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार स्कूल अफ इन्जिनियरिङ र स्कूल अफ साइन्सको स्नातक तहको भर्ना प्रक्रिया अन्तिम चरणमा छ भने अन्य स्कूलहरूमा स्नातक तथा स्नातकोत्तर भर्ना प्रक्रिया जारी छ । यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३०० भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । आर्टस, म्यानेजमेन्ट र एजुकेसनमा करिब ३०० विद्यार्थी भर्नाकाे अपेक्षा गरिएको छ । साथै, मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा ४०० भन्दा बढी अतिरिक्त सिट थपिने अपेक्षा छ ।
भर्नामा यो बृद्धि विश्वविद्यालयका बहुविषयक कार्यक्रम, शैक्षिक पूर्वाधार सुदृढीकरण र गुणस्तरिय शिक्षाप्रति प्रतिबद्धताको परिणाम हो। साथै, छात्रवृत्ति विस्तार, उद्योगसँगको सहकार्य र प्रादेशीक पहुँच कार्यक्रमहरूले विविध र समावेशी विद्यार्थी समूह निर्माणमा सहयोग गरेका छन् ।
विदेशी प्राध्यापक नियुक्ति
काठमाडौं विश्वविद्यालयले आफ्ना शैक्षिक र अनुसन्धान गतिविधिहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विदेशी प्राध्यापक नियुक्तिमा ठोस कदम चालेको छ। विश्वविद्यालयले २०२५ जुलाईमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकहरूबाट अभिरुची आह्वान गरेको थियो। जसमा विश्वभरका ४५० भन्दा बढी प्राध्यापकहरूबाट अभिरुची प्राप्त भएका थिए ।
विश्वविद्यालयले यस शैक्षिक सत्र (२०८२/८३) का लागि १२ जना विदेशी प्राध्यापक नियुक्त गरेकाे जनाएकाे छ। स्कूल अफ आर्टस, स्कूल अफ एजुकेसन, स्कूल अफ मेडिकल साइन्सेज र स्कूल अफ साइन्समा प्राध्यापकहरू नियुक्त भइसकेका छन्। ताइवान, भारत, अमेरिका, चीन, दक्षिण कोरियालगायत देशका प्राध्यापकहरूले अध्यापन गर्ने भएका हुन् । विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको सङ्ख्या १० प्रतिशत बनाउने लक्ष्य राखेको छ।
शिक्षाको अन्तर्राष्ट्रियकरणमा विश्वविद्यालयले सुरुवातदेखि नै जोड दिँदै आएको छ । विगत तीन दशकमा विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेका छन्। हालसम्म ५५ देशका करिब ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन् । साथै ४१ देशका २९० भन्दा बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरूसँग विश्वविद्यालयको सहकार्य रहेको छ।
