शिला कुमारी खरेल
पर्दा त हाल्छन् झ्याल ढोकामा
घरलाई धुलोबाट जोगाउन र
सुन्दर देखाउन
हावा लाग्दा त्यसमा जडेका मोती,मुगा
एक आपसमा ठक्कर लाग्दा निस्केका आवाजहरू
संगीत बनेर गुञ्जिदा र
सरर चलेको हावाले धक्का दिँदा
पर्दा यताउता नृत्य गरिरहेका झैं लाग्छ ।

पर्दा त हरेक कुरामा लाग्न सक्छ
कसैको आँखामा
कसैको विश्वासमा
कसैको सोचाईमा त
कसैको हेराईमा ।

विश्वासमा पर्दा लाग्दा
सम्बन्ध तहसनहस पारिदिन्छ
घर परिवारमा सङ्कट छाइदिन्छ
मनमुटाव गराइदिन्छ
जीवनलाई अर्कै मोडमा पु¥याइदिन्छ
मरौं कि बाचौँ भन्ने बनाइदिन्छ ।

त्यही पर्दा आँखामा लाग्दा
वरिपरि धमिलो देखिन्छ र
जीवनलाई धमिल्याई दिन्छ
कतै दृष्टिबिहिन त हुने होइन भन्ने
आभाष गराइदिन्छ
कतै बुढ्यौलीको सङ्केत त गरेको होइन
मन मषतिष्कमा हलचल मच्चाई दिन्छ ।

त्यही पर्दा सोचाई र बुद्धिको
ढकनी बनेर आयो भने
सोच्ने क्षमता नष्ट गराई दिन्छ
नकारात्मक भावनाको हावी गराई दिन्छ
बुद्धि र विवेकमा धमिरा लगाई दिन्छ र
राक्षसी भाव जगाई दिन्छ
कलह मच्चाई दिन्छ
शान्ति भंग गराई दिन्छ ।

पर्दा त पर्दा नै हो नि तर
हरेक कुरामा फरक फरक रूपमा आई दिन्छ
कतै सुवास छरी दिन्छ त
कतै घृण,
कतै द्वेष,
कतै कलेश र
कतै विश्वासघाती बनाई दिन्छ
बुद्धि र विवेकमा बिर्को लगाई दिन्छ
सोच्ने क्षमता घटाई दिन्छ ।

पर्दाले सुवास छर्दा
गिद्धे नजरबाट बचाउँछ
मर्यादा कायम राख्छ
इज्जत बचाउन सहयोग गर्छ
धुवाँ र धुलोबाट जोगाउँन मदत गर्छ
घरको वातावरण बनाई दिन्छ सुन्दर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *