चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला र आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र उनीहरूलाई अधिकारप्रति सचेत गराउने उद्देश्यका साथ सञ्चारकर्मीहरूसँगको एक दिने अन्तक्र्रिया कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।

महिला आत्मनिर्भरता केन्द्र र फेयरमेड फाउन्डेसनद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजना सिन्धुपाल्चोकको आयोजनामा भएको यस कार्यक्रमले विशेषगरी “स्वस्थ आमा, स्वस्थ समाज“ भन्ने मूल मर्मलाई जोड दिएको छ ।

कार्यक्रममा गर्भावस्थ देखि सुत्केरी अवस्थासम्म एक महिलाले भोग्नुपर्ने शारीरिक र मानसिक चुनौतीहरू तथा त्यसको समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। ग्रामीण क्षेत्रका आमाहरूमा अझै पनि पोषणको कमी र स्वास्थ्य जाँचमा पहुँच पुग्न नसकेको यथार्थलाई मध्यनजर गर्दै, सञ्चारकर्मीहरूले यस्ता विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

खासगरी गर्भावस्थामा पोषणयुक्त खानपान, नियमित स्वास्थ्य परीक्षण र सुरक्षित मातृत्वका लागि अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउन सञ्चार माध्यमको भूमिका निर्णायक हुने कार्यक्रमको निष्कर्ष थियो । यस्तै, विपतका समयमा महिला र बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने हुनाले उनीहरूको विशेष संरक्षण र स्वास्थ्य सुरक्षाका लागि समेत कार्यक्रमले सबैको ध्यानाकर्षण गराएको छ ।

आयोजकका अनुसार, कुपोषणविरुद्धको अभियान र मातृ–शिशु मृत्युदर कम गर्न सञ्चालित यो परियोजनाले जिल्लाका दुर्गम भेगका महिलाहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पनि समाजमा लुकेर रहेका महिला स्वास्थ्यका समस्याहरूलाई बाहिर ल्याई आमाहरूको जीवन रक्षाका लागि सक्रिय भएर कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्ता सचेतनामूलक कार्यक्रमले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बनाउनुका साथै एक स्वस्थ पुस्ता निर्माणमा इँटा थप्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *