- ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । स्वास्थ्य सूचकांकका आधार पूरा गरेर पूर्ण खोप सुनिश्चिततामा काभ्रेपलाञ्चोक जिल्ला बागमती प्रदेशमै पहिलो जिल्ला हुन सफल भएको छ । खोप सेवाको पहुँच तथा उपभोगको हिसाबले पहिलो क्याटोगोरीमा पर्ने बागमती प्रदेशको एक मात्र जिल्ला रहेको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लामध्ये काभ्रे पहिलो भएको हो । कार्यालयले सोमबार जिल्लाका सक्रिय संचारकर्मीसँग जिल्लामा सम्पादित बार्षिक क्रियाकलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै यसको जानकारी दिएको हो । कार्यालयका अनुसार काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको छ । यहाँका पनौतीमा एक र खानीखोलामा एक जना बालबालिका गरि दुई जनामा मात्र खोप लगाउन छुटेको छ । त्यसमा पनि एक जनाको आमा सम्पर्कमा नआएका कारण खोप लगाउन छुटेको थियो ।
जिल्लाका १३ पालिका मध्ये नमोबुद्ध नगरपालिका गत वैशाख १७ गते पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको थियो । सबै प्रक्रिया पूरा गरेका पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने अभियानका आधारमा असार २ गते बेथानचोक र चौंरीदेउराली गाउँपालिकालाई घोषणा गरिएको हो । यससँगै जिल्ला पनि पूर्ण खोप सुनिश्चित भइसकेको छ । कार्यालयले अब पूर्णखोप विद्यालयको अवधारणा अघि सारेर काम गर्ने सोच बनाएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा खोप लगाउने बालबालिकाको समग्र अवस्था भने ५२ प्रतिशत रहेकोमा वागमती प्रदेशमा ६० प्रतिशत छ ।
काभ्रे जिल्लामा ६ वटा सरकारी अस्पतालहरु रहेका छन् । निजी अस्पतालको संख्या ११ छ । स्वास्थ्य चौकी ८४, प्राथमिक स्वास्थ्य केन्द्र ४, आयूर्वेद तथा वैकल्पिक चिकित्सालय ६, शहरी स्वास्थ्य केन्द्र १३, सामुदायिक स्वास्थ्य इकाई २२ वटा रहेका छन् । यस्तै आधारभूत स्वास्थ्य केन्द्र ३९, वर्थिङ सेन्टर ४७ वटा, क्षयरोग माइक्रोस्कोपी सेन्टर २३ र ओटीसी सेन्टर ३८ वटा रहेका छन् । सुरक्षित गर्भपतन साइट २२, डट्स सेन्टर १५६, निजी क्लिनिक ÷ पोलिक्लिनिक २०, वेसिक ल्याव ३३, किशोर किशोरी मैत्री स्वास्थ्य संस्था २५, गाउँघर क्लिनिक ३६३ वटा रहेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार खोप क्लिनिक ३६७ वटा, महिला स्वयं सेविका ९३७ जना र जिल्लामा संचालित एम्बुलेन्स ४६ वटा रहेका छन् ।
जिल्लाका १३ पालिकामा १३५ वटा वडाहरु रहेका छन् । जसमा पाँचखाल नगरपालिकाको वडानम्बर ४ बाहेक १३४ वटा वडामा स्वास्थ्य संस्था रहेका कार्यक्रममा कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । ती वडाहरुमा १६८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मापदण्ड अनुसारका स्वास्थ्य संस्थाका भवनको संख्या ९२ छ । ४४ वटा स्वास्थ्य संस्थामा २४ सै घण्टा सेवा संचालन भइरहेका छन् ।
जिल्लामा प्रतिहजारमा ३८ जना बालबालिकामा निमोनियाको समस्या छ । जिल्लाका ८६ प्रतिशत महिलाले गर्भ जाँच गर्ने गरेका छन् भने शिक्षित वर्गमै धेरै पूर्ण स्तनपानको समस्या छ । परिवार नियोजन दर बढ्दो क्रममा छ । जसले गर्दा जनसंख्या घट्दो क्रममा रहेको देखिन्छ । २० वर्ष मुनीका महिलाले बच्चा जन्माउने दर ७.७२ प्रतिशत छ । नसर्ने रोग अन्तर्गत उच्चरक्त चाप ३ हजार ३१६ जनामा, मधुमेहको समस्या १ हजार १८३ जनामा र आत्महत्या ११९ जनाले गरेका तथ्यांक छ ।
कार्यालयका लागि गत आर्थिक वर्षमा संघीय सशर्त अनुदानतर्फ ८ करोड ७४ लाख २८ हजार ५०० बजेट विनियोजन भएकोमा ४ करोड ३० लाख १४ हजार ७५४ अर्थात ४९.२० खर्च भएको छ । यस्तै प्रदेश सशर्त अनुदानमा ३ करोड १६ लाख २५ हजार मध्ये ३ करोड २ लाख ६० हजार २०१ र विशेष अनुदान (संघ र प्रदेश) २ करोड ३२ लाख ६५ हजार मध्ये १ करोड ८३ लाख ५७३ खर्च भएको छ । यसरी समग्रमा ७४.५१ प्रतिशत बजेट खर्च हुँदा १ करोड ३६ लाख ८५ हजार ९४३ रुपैंयाँ बेरुजु देखिएको छ । जसमा १३.६६ प्रतिशत फर्छयौट भएको छ ।
सोमबारको कार्यक्रम जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यालय प्रमुख कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितीका बारेमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गर्नुभयो । यस्तै कार्यालयको वार्षिक समीक्षा तथा आगामी कार्यक्रमहरुबारे कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार मानसिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि, सबै नीतिमा स्वास्थ्य, स्वास्थ्यमा प्रविधिकरण, प्रदेश स्वास्थ्य सहजकर्ता कार्यक्रम, योग, ध्यान, प्राणायाम तथा प्रदेश योग समिति गठन, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रमलगायतका कार्यक्रमहरु आगामी वर्षमा संचालन गरिनेछ ।
कार्यालय प्रमुख श्रेष्ठले स्वास्थ्यमा सुधार ल्याउन तीनै तहका सरकारको समन्वय र सहकार्यमा विशेष जोड दिनुभयो । जिल्लामा सामुदायिक कुकुरहरुको व्यवस्थापनमा चुनौती देखिँदा रेबिजको जोखिम उच्च रहेको र यसमा विशेष कार्यक्रम संचालनमा उहाँले सबैलाई अनुरोध गर्नुभयो । प्रमुख अतिथी पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले कार्यालयको समग्र प्रगति सन्तोषजनक रहेकाले आगामी दिनमा थप प्रगतिको कामना गर्दै संचारकर्मीका तर्फबाट हुने सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लामा सक्रिय संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
